अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउमा सूर्य थापाको प्रश्न : ‘किन र कुन आधारमा पक्राउ गरियो ?’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउमा सूर्य थापाको प्रश्न : ‘किन र कुन आधारमा पक्राउ गरियो ?’


काठमाडौं-नेकपा (एमाले)का नेता सूर्य थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै सरकारले पक्राउको कारण र कानुनी प्रक्रियाबारे तत्काल सार्वजनिक जानकारी दिनुपर्ने बताएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत जबरालाई कुन आरोपमा, कसको उजुरी वा आदेशमा र के कानुनी प्रक्रियाअन्तर्गत नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्।

उनले लेखेका छन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई व्यक्तिगत रूपमा म चिन्दिनँ, आमनेसामने भएर र भेटेर कुरा भएको छैन। प्रधानमन्त्री शाह न्यूयोर्कबाट फर्किनासाथ उहाँ गिरफ्तार हुनुभएको भनिएको छ। किन हो ? के आरोप, उजुरी वा कसको झोसपोल र आदेशमा रातारात रहस्यमय तबरले नियन्त्रणमा लिइएको हो ?’

थापाले कानुनी राज्यमा नागरिकलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पालना गर्नुपर्ने उल्लेख गर्दै पक्राउको कारणसमेत सार्वजनिक नगरी नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन्।

‘नागरिकलाई जानकारी नगराई मनोमानी ढंगले दुर्व्यवहारको शैलीमा पक्राउ गरिनु असभ्य, तानाशाही र गुण्डाराज हो,’ उनले भनेका छन्।

थापाले अनुसन्धान आवश्यक भए अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरी कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन्। साथै, जबराको गिरफ्तारी न्यायपालिकामाथि दबाब सिर्जना गर्ने उद्देश्यले गरिएको हुनसक्ने दाबीसमेत थापाले गरेका छन्।

‘यो गिरफ्तारी व्यक्ति चोलेन्द्रशमशेर राणाको मात्रै नभएर न्यायपालिका तर्साउने र आफ्नो निहीत उद्देश्यअनुरूप कज्याउने कोसिसअन्तर्गत हो भन्ने स्पष्ट छ,’ उनले फेसबुकमा लेखेका छन्।

थापाले पक्राउ पुर्जीको प्रयोग नियमित नभई आवश्यक र तर्कसंगत अवस्थामा मात्रै हुनुपर्ने धारणा राख्दै जबरालाई नियन्त्रणमा लिइएको विषयमा सरकारले के भएको हो भन्नेबारे अविलम्ब सार्वजनिक जानकारी गराउन माग गरेका छन्।