काठमाडौं-निरन्तरको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा रोकिएका मालवाहक ट्रक, बस तथा अन्य सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।
पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएपछि पछिल्ला चारदेखि पाँच दिनसम्म उपत्यकामा रोकिएका सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको हो।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं भित्रिने तथा बाहिरिने क्रममा रहेका सयौं ट्रक र बस रोकिएका थिए। सडक सञ्चालनमा आएपछि ती सवारी साधन एकैपटक बाहिरिन थालेका कारण कलंकी, ढुंगेअड्डा, थानकोट र नागढुंगालगायत क्षेत्रमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ।
सवारी साधनको संख्या अत्यधिक भएकाले केही स्थानमा ट्राफिक जामसमेत भएको छ। पृथ्वी राजमार्ग खुल्न थालेसँगै उपत्यकाबाट बाहिरिने मालवाहक तथा यात्रुवाहक सवारीको आवागमन बढेको ट्राफिक प्रहरीले जनाएको छ।
यद्यपि निरन्तर वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा अझै पहिरो जाने तथा सडक पुनः अवरुद्ध हुने जोखिम कायम रहेकाले यात्रु र चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।



प्रतिक्रिया