काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेका निर्णय र कार्यभारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश नेतृत्वलाई निर्देशन दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भर्चुअल माध्यममार्फत कोशी, मधेस, बागमती र राजधानी प्रदेशका प्रदेश सचिवालय सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीको तेस्रो बैठकले निर्धारण गरेका तत्कालीन कार्यभार पूरा गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन्।

अध्यक्ष ओलीले बैठकले तय गरेका १५ वटा प्रमुख कामलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीलाई अझ एकताबद्ध बनाउँदै आगामी स्थानीय तह निर्वाचनमा उत्कृष्ट नतिजा हासिल गर्ने गरी संगठन परिचालन गर्न निर्देशन दिए।
‘हाम्रो भर्खर सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेले गर्ने तत्कालीन प्रमुख कार्यभार तोकेको छ। त्यो कार्यभार पूरा गर्न गर्नुपर्ने १५ वटा काम छन्। त्यसका लागि तपाईंहरू सबै तयार रहनुहोला,’ अध्यक्ष ओलीले भने, ‘सोही अनुसार पार्टीलाई एकढिक्का बनाउँदै स्थानीय निर्वाचनमा अव्वल नतिजा निकाल्न पार्टी पंक्ति परिचालित गर्नुहोला।’

सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान र लोकतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै त्यसको रक्षा गर्न एमाले आवश्यक परे जस्तोसुकै सङ्घर्षका लागि पनि तयार रहेको बताए।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अध्यक्ष ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला सचिवालय सदस्यहरूलाई पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।






प्रतिक्रिया