अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब पार्टी, जनता र देशको सेवामै समर्पित हुन्छु: विद्या भण्डारी

अब पार्टी, जनता र देशको सेवामै समर्पित हुन्छु: विद्या भण्डारी


बुटवल-पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित भएर अघि बढ्ने बताएकी छन्।

एमालेले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले पार्टीको निर्णय स्वीकार गरेको र आगामी दिनमा पार्टीलाई थप ऊर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

एमालेले २०८३ असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरिसकेको छ।

कार्यक्रममा भण्डारीले राष्ट्रपति पदसम्म पुगिसकेपछि अब आफूलाई कुनै पदको आकांक्षा नरहेको स्पष्ट पारिन्। ‘राष्ट्रपति भइसकेँ, अब कहाँ जाने ? पदको हिसाबले माथि पुगेँ। अब यहाँभन्दा माथि जाने ठाउँ छैन। अब जाने भनेको स्वर्ग हो,’ उनले भनिन्, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै बाँकी छ। त्यसैले यही पार्टीमा रहेर काम गर्छु।’

बाल्यकालदेखि नै एमालेमा आबद्ध रहेको स्मरण गर्दै उनले सामाजिक सेवा, सामाजिक कुरीतिविरुद्धको अभियान तथा राजनीतिक आन्दोलनमार्फत समाज र राष्ट्रको सेवामा निरन्तर सक्रिय रहेको बताइन्।

विगतको वाम आन्दोलनका क्रममा अनेक चुनौती र कठिनाइ भोगे पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै भण्डारीले नेतृत्वबाट हुने गल्ती र कमजोरीलाई स्वीकार गरी सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखिन्।

उनले पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनलाई कमजोर बनाएको बताइन्। २०७४ सालको निर्वाचनमा वाम एकताबाट सकारात्मक परिणाम आएको स्मरण गराउँदै पछि एकता भंग हुँदा पार्टी र आन्दोलन दुवैले क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो।

‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी-कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने शक्तिहरू पनि सक्रिय रहेको उल्लेख गर्दै भण्डारीले जनताको आस्था बलपूर्वक परिवर्तन गर्न नसकिने र जनविश्वास जित्नुपर्नेमा जोड दिइन्।

उनले मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुने बताउँदै पार्टी विभाजनको असर समग्र राजनीतिक प्रणालीमा पर्ने बताइन्। आवश्यकता, स्थानीय परिस्थिति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकता कायम गर्नुपर्ने उनको भनाइ थियो।

एउटा निर्वाचनको परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भण्डारीले एमालेलाई वाम आन्दोलन, देशभक्ति र सामाजिक न्यायको प्रमुख शक्तिका रूपमा प्रस्तुत गरिन्।

‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ। अब यही आन्दोलनलाई अझ बलियो बनाउने मेरो चाहना हो,’ उनले भनिन्।

राष्ट्रिय स्वाभिमानको रक्षा र नेपाली जनताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सबै राजनीतिक शक्तिहरू राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताइन्।

भण्डारीले पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै पुस्ताबीचको दूरी हटाएर सबै पुस्तालाई जोड्नुपर्ने धारणा राखिन्।

‘पार्टी जीवन पनि परिवारभन्दा फराकिलो हो। त्यसैले परिवारजस्तै पार्टीमा पनि जेनेरेसन ग्याप राख्नु हुँदैन,’ उनले भनिन्।

सामाजिक शिक्षाको मर्म पनि यही रहेको बताउँदै उनले शान्तिपूर्ण परिवर्तनका लागि लामो यात्रा आवश्यक हुने र त्यसका लागि निरन्तर संघर्ष तथा प्रतिबद्धता आवश्यक पर्ने धारणा व्यक्त गरिन्।