अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ महिनाको अवधिमा सरकारले नयाँ परिणाम दिन सकेन: गुरु बराल

६ महिनाको अवधिमा सरकारले नयाँ परिणाम दिन सकेन: गुरु बराल


काठमाडौं-नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा जनताले अनुभूति गर्ने कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको आरोप लगाएका छन्।

मंगलबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने प्रतिबद्धतासहित बनेको सरकारले अपेक्षाअनुसार परिणाम दिन नसकेको आराेप लगाए। उनले सरकार गठनको सुरुवाती चरणमै सुकुम्बासी बस्तीमा डोजर चलाएर त्रास सिर्जना गरिए पनि प्रभावित नागरिकको व्यवस्थापनमा सरकार असफल भएको दाबी गरे।

सांसद बरालले विभिन्न सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेप बढेको, नियुक्तिहरू विवादित बनेको तथा पुरानै व्यवस्था पुनःस्थापित गर्ने प्रकृतिका विधेयक सदनमा ल्याइएको टिप्पणी गरे। सरकार र प्रधानमन्त्री प्रतिनिधिसभाप्रति पर्याप्त रूपमा जवाफदेही हुन नसकेको आरोप लगाउँदै उनले सार्वजनिक रूपमा उठेका गम्भीर प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताए।

सांसद बरालले बजारमा बढ्दो महँगी, उपभोग्य वस्तुमा मिसावट तथा कृत्रिम अभाव नियन्त्रण गर्न सरकार असफल भएको दाबी गरे। नागरिकले दैनिक उपभोगका अत्यावश्यक वस्तु सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले आधा सिलिन्डर ग्याससमेत सहज रूपमा उपलब्ध गराउन नसकिएको बताए।

सांसद बरालले भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत क्षेत्रमा बाढी तथा विपद्बाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उद्धार, राहत तथा खोजी कार्यमा समेत सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाए।

सांसद बरालले ६ महिनाको अवधिमा सरकारले जनताको जीवनस्तर सुधार, सुशासन कायम र सेवा प्रवाहमा ठोस उपलब्धि हासिल गर्न नसकेको भन्दै सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरे।