मोरङ-नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा जारी क्षेत्रीय अधिवेशनका क्रममा बुधबार झडप भएको छ। झडपमा पूर्व प्रदेश सांसद चुमनारायण तबदार, जेनजी समुद्र पोखरेल र चेतराज रेग्मी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ।
कांग्रेसकी केन्द्रीय उपमहामन्त्री डा. डिला संग्रौलाले क्षेत्रीय सभापति देबु तामाङको योजनामा आक्रमण भएको आरोप लगाएकी छन्। उनले अधिवेशनस्थलमा आफू प्रमुख अतिथिका रूपमा उपस्थित रहेको बताउँदै सभापतिको निर्देशनमा फलाम प्रहार गरी आक्रमण गरिएको दाबी गरिन्।
संग्रौलाका अनुसार चेतराज रेग्मी, सौरभ पोखरेलसहित कम्तीमा तीन जनाको उपचार भइरहेको छ भने घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन्। उनले घटनाका लागि जिम्मेवार ठहर गर्दै क्षेत्रीय सभापति तामाङलाई पार्टीबाट कारबाही गर्न माग गरेकी छन्।
यता क्षेत्रीय सभापति देबु तामाङले भने झडपका लागि संग्रौलालाई नै जिम्मेवार ठहर गरेका छन्। उनले अधिवेशनअन्तर्गत मनोनयन दर्ताको समयअघि नै विवाद सिर्जना भएको बताए।
‘सम्मेलनका लागि मनोनयन दर्ताको समय थियो, तर त्यसअघि नै झडप भयो,’ तामाङले भने, ‘केही साथीहरूको जिम्मेवारी खोसेर अर्कैलाई दिइएको थियो। कार्यक्रम सुरु हुनै लाग्दा तोडफोड भयो।’
तामाङले डा. संग्रौलाले अशोक रिजाललाई प्रदेश सभापतिको उम्मेदवार बनाएको र अर्का नेता मात्रिका चापागाईंले उम्मेदवारी दिने विषयलाई लिएर विवाद सिर्जना भएको आफूले जानकारी पाएको बताए। उनले कांग्रेसभित्र विभिन्न गुटका नाममा देशभर यस्तै प्रकारका विवाद भइरहेको पनि दाबी गरे।
घटनापछि अधिवेशनको निर्वाचन प्रक्रिया प्रभावित भएको छ। झडपबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया