सुनसरी-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै उनले देश निर्माणका लागि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य भए सीप विकास, उद्योग स्थापना र रोजगारी सिर्जनामा थप उपलब्धि हासिल गर्न सकिने बताए।

निजी क्षेत्रको सम्भावनालाई सदुपयोग गर्न सरकारले उपयुक्त नीति, कानुनी तथा व्यवस्थापकीय व्यवस्था गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले सीप र तालिमका नाममा राज्यकोषबाट बर्सेनि ठूलो रकम खर्च भए पनि वास्तविक रोजगारी सिर्जना गर्ने सीप प्राप्त नभएको धारणा राखे ।
उनले प्रदेश सरकारले अहिले साना तथा मझौला उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण तथा न्यूनतम धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए ।
नेपालमा उत्पादन बढाएर स्वदेशी बजारसँगै छिमेकी मुलुकका बजारको सम्भावनासमेत उपयोग गर्नुपर्ने बताउँदै उनले पर्यटन र घरेलु उत्पादनलाई जोडेर स्थानीयस्तरमै रोजगारीका अवसर विस्तार गर्न सकिने धारणा राखे ।



प्रतिक्रिया