वीरगन्ज-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्सामा सम्पन्न क्षेत्रीय अधिवेशनपछि उत्पन्न असन्तुष्टिले पार्टीभित्र नयाँ विवाद जन्माएको छ। क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा एकलौटी गरिएको आरोप लगाउँदै पर्साका २७ जना नेताकार्यकर्ताले कांग्रेस परित्याग गरेका छन्।
बुधबार जिल्ला सभापतिलाई सम्बोधन गर्दै बुझाइएको सामूहिक राजीनामा पत्रमार्फत उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कांग्रेस छाडेको घोषणा गरेका हुन्। राजीनामा दिनेमा कांग्रेस पर्साका जिल्ला सदस्य हिरालाल कानुसहित विभिन्न तहमा सक्रिय नेताकार्यकर्ता रहेका छन्।
राजीनामा पत्रमा हालै सम्पन्न १५औँ महाधिवेशनअन्तर्गतका क्षेत्रीय अधिवेशनमा कार्यकर्ताको भावना र योगदानलाई बेवास्ता गर्दै आसेपासे समूहलाई महाधिवेशन प्रतिनिधि तथा विभिन्न समितिमा समावेश गरिएको आरोप लगाइएको छ। पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको र निर्णय प्रक्रियामा सीमित समूहको वर्चस्व बढेको उनीहरूको गुनासो छ।
राजीनामा दिने टोलीले पार्टीभित्र वर्षौंदेखि प्रभाव जमाउँदै आएका केही नेतामा नातावाद, कृपावाद र ‘झोले प्रवृत्ति’ मौलाउँदै गएको आरोप लगाएको छ। यस्ता बेथितिको सुधारतर्फ नेतृत्व गम्भीर नदेखिएको भन्दै आफूहरू पार्टी त्याग्न बाध्य भएको उनीहरूको भनाइ छ।
पार्टी परित्याग गर्नेहरूमा हिरालाल कानु, सोनाल गुप्ता, वीरेन्द्र साह कानु, तिलक साह कानु, लक्ष्मण कानु, दीपक साह कानु, डा. जयकुमार गुप्ता, डा. राजकुमार गुप्ता, अनिता देवी गुप्ता, काजल कुमारी, भरत साह कानु, मुनिलाल साह कानु, सञ्जय चौधरी, रोहित चौधरी, सरोजकुमार साहलगायत २७ जना रहेका छन्।
हिरालाल कानु कांग्रेसका पुराना कार्यकर्तामध्ये एक मानिन्छन्। उनी दुईपटक बुथ सभापति भइसकेका छन् भने २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
पर्सामा महाधिवेशन प्रक्रियालाई लिएर देखिएको यो असन्तुष्टि आगामी दिनमा जिल्ला राजनीतिमा थप प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। यद्यपि, राजीनामा सम्बन्धमा जिल्ला नेतृत्वले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।



प्रतिक्रिया