काठमाडौं-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचार राख्न पाउने खुला वातावरण आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक परेको बताएका हुन्। उनले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्र नभई नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण थलो भएको बताए।
‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’
उनले जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताले यही खुलामञ्चबाट राजनीतिक सम्बोधन गरेको स्मरण गरे। खुलामञ्चले फरक विचार, मतभेद र असहमतिलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको उनको भनाइ थियो।
थापाले अब देशका विभिन्न ठाउँमा यस्ता खुला संवादका थलो आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसद्भित्रै खुलापन आवश्यक रहेको उनको धारणा थियो।
‘संसद् अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।
सत्तामा रहेकाहरूले जनताका प्रश्न सुन्नुपर्ने र नागरिकसँग निरन्तर संवाद गर्नुपर्नेमा जोड दिँदै थापाले लोकतन्त्रमा जनताको आवाज बन्द गर्न नहुने बताए। संसद् जनताको आवाज र प्रश्न प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई अझ खुला, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो।
थापाले पहाडदेखि तराईसम्म तथा भौतिक स्थानदेखि विद्युतीय माध्यमसम्म नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए।
पार्टीभित्र पनि प्रश्न, असहमति र आलोचनालाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए। नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैलीसमेत लोकतान्त्रिक हुनुपर्ने धारणा राखे।
‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।
लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलभित्रै फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकार सुरक्षित हुनुपर्ने बताए।
‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।
१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु खुला संवाद र जनताबीचको सम्बन्ध पुनःस्थापित गर्ने प्रतीक भएको उनको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने स्थानका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने थापाले बताए।



प्रतिक्रिया