अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री गुरुङको चेतावनी– गोप्य सूचना चुहाउने कसैले पनि उन्मुक्ति पाउने छैन

गृहमन्त्री गुरुङको चेतावनी– गोप्य सूचना चुहाउने कसैले पनि उन्मुक्ति पाउने छैन


काठमाडौं-गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउन नहुने बताएका छन् ।

गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी तथा कर्मचारीबाट गोप्य सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका हुन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन् । पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ ।

गृह मन्त्रालय तथा मातहतका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले उल्लेख गरेका छन् ।

गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान खेलबाड गर्ने तथा देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन् ।

‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको छु,’ उनले भनेका छन् ।

उनले राज्यको संवेदनशील सूचना सार्वजनिक जिम्मेवारी भएकाले त्यसको संरक्षण गर्नु सम्बन्धित पदाधिकारी तथा कर्मचारीको दायित्व भएको बताएका छन् ।

गुरुङले गोपनीयताको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने स्पष्ट पार्दै भनेका छन्, ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ ।’