अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन: बिहानैदेखि मतदाता

कांग्रेस महाधिवेशन: बिहानैदेखि मतदाता


काठमाडौं-नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।

मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् ।

योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैं भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।

खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरु गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

उनले बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि नै थालिने बताए ।

उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएको हो ।

आजको बसाइँ र खानाको खर्च पार्टीकै 

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटेल बसाइँ खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताए ।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ – बागमती प्रदेश

खुलामञ्च, मतदान केन्द्र ‘ख’– कोशी प्रदेश तथा तराई–मधेस समूह

हिमाल हल – गण्डकी प्रदेश

तराई–मधेश हल – मधेश प्रदेश

पहाड हल – लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले मतदान स्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।

उम्मेदवारी प्रक्रिया पूरा

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।

अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उम्मेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् ।

मतदानपछि मतगणना

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ ।

मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । त्यससँगै कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।

१५ औं महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।