धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। बजेट प्रस्तुतिका लागि दिउँसो २ बजे समय तय गरिएको सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिएका छन्।
बजेटसम्बन्धी निर्णय गर्न दिउँसो १ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। त्यसपछि दिउँसो २ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरिने मन्त्री रावलले बताए। ‘आज दिउँसो २ बजे पक्का बजेट आउँछ,’ उनले भने।
अघिल्लो सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुदूरपश्चिम प्रदेश बजेटविहीन अवस्थामा छ। बजेट अभावका कारण प्रदेश सरकारका नियमित कामकाज, विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावित हुँदै आएका छन्।
बजेट नहुँदा स्वास्थ्य संस्थाहरूमा औषधिको अभावसमेत हुन थालेको छ। बजेट ल्याउने विषयमा सरकारभित्रै देखिएको अन्योल र विवादका कारण प्रदेशसभा बैठकसमेत पटक–पटक प्रभावित हुँदै आएको थियो।
लामो समयदेखि कायम बजेट शून्यताका कारण प्रदेशको विकास निर्माण र सेवा प्रवाहमा परेको असर कम गर्न आज प्रस्तुत हुने बजेटले मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। बजेट प्रस्तुत भएसँगै प्रदेश सरकारका नियमित कामकाज र विकास निर्माणका गतिविधिले गति लिने आशा गरिएको छ।



प्रतिक्रिया