काठमाडौं-नेकपा (एमाले)का नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका छन्। नेता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको परराष्ट्र नीति र समग्र कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भारतसँगको सीमा समस्या, डुबान र असमान सन्धिका विषयमा नेपालको हितअनुसार आवाज उठाउनुपर्ने बताए। ती विषयमा आवाज उठाउँदा भारतविरोधी भनिने हो भने आफू हजारपटक भारतविरोधी बन्न तयार रहेको उनको भनाइ थियो।
नेता पोखरेलले आफू भारतविरोधी नभएको स्पष्ट पार्दै पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका तथा अन्य मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने धारणा राखे। नेपालको राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
नेता पोखरेलले सरकारको समग्र कार्यशैलीमाथि पनि प्रश्न उठाए। राजदूत सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको आरोप लगाउँदै पोखरेलले नागरिकता विवादमा परेकी व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गर्नु गलत भएको बताए।
सरकारका निर्णय र परराष्ट्र नीतिले नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।



प्रतिक्रिया