अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्‍यो, चिसो बढ्दै

काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्‍यो, चिसो बढ्दै


काठमाडौँ-काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। पछिल्लो मापनअनुसार आज बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रेकर्ड भएको हो। बिहान ८ः४५ बजेसम्म तापक्रम अझै घट्न सक्ने उनले बताएका छन्।

चिसो मौसममा सूर्योदय हुँदासम्म न्यूनतम तापक्रम थप घट्न सक्ने भए पनि कहिलेकाहीँ प्रारम्भिक मापनकै तापक्रम कायम रहने मौसमविद् ढकालले बताए।

बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो। बुधबारको तुलनामा आज बिहान तापक्रम २.२ डिग्रीले घटेको छ।

मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन। दिनभर मौसम सामान्यतया घमाइलो रहने भए पनि बीचबीचमा बादल देखिन सक्ने उनले बताए।

बुधबार भने काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहलमा ११.२ मिलिमिटर वर्षा मापन भएको थियो। उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार १० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा तापक्रम घट्दै जाँदा चिसो बढ्न थालेको छ। महाशाखाले दैनिक देशका विभिन्न स्थानको न्यूनतम तथा अधिकतम तापक्रम मापन गरी सार्वजनिक गर्दै आएको छ।

महाशाखाले बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रमको अन्तिम मापन गर्ने गर्छ। न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो अवस्था र अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।

बुधबार यस्तो थियो देशभरको तापक्रम सूची