काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतको आर्थिक समृद्धिमा साझेदार बन्न भारतीय लगानीकर्ताहरूलाई आह्वान गरेका छन्।
भारतको औपचारिक भ्रमणका क्रममा आयोजित संयुक्त सम्बोधनमा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धको बलियो जगमा उभिएर भविष्यका लागि आर्थिक सहकार्यका नयाँ आधार निर्माण गर्नुपर्ने बताएका हुन् । उनले दुवै देशको साझा समृद्धिका लागि लगानी र आर्थिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री शाहले शिक्षा र सम्पर्क सञ्जाल विस्तारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । आगामी दिनमा नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आइआइटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, दुवै देशका नागरिकको आवागमन सहज बनाउन नेपाल र भारतका विभिन्न सहरबीच सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
इतिहासले नेपाल र भारतलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत द्विपक्षीय सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने असाधारण जिम्मेवारी सुम्पिएको प्रधानमन्त्री शाहले उल्लेख गरे ।
पछिल्ला ऐतिहासिक उपलब्धिहरूले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा दुई देशबीचको सहकार्य थप सुदृढ हुने अपेक्षा व्यक्त गरे ।



प्रतिक्रिया