अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा भनिएजस्तो ‘डिपार्चर’ देखिएन: एमाले सचिव भट्टराई

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा भनिएजस्तो ‘डिपार्चर’ देखिएन: एमाले सचिव भट्टराई


काठमाडौं-नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भनिएजस्तो नीतिगत परिवर्तन (डिपार्चर) देखिन नसकेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमण विगतकै निरन्तरतामा सीमित भएको बताएका हुन्।

सोमबार भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता र समझदारीबारे प्रतिक्रिया दिँदै भट्टराईले विगतमा सुरु भएका आयोजनाको शिलान्यास तथा सम्पन्न आयोजनाको उद्घाटनलाई नै भ्रमणको मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिएको बताए।

भ्रमणका क्रममा भारतले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा विकासका लागि दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा गर्नु सकारात्मक पक्ष भएको उनले बताए। आर्थिक समस्या रहेको वर्तमान अवस्थामा उक्त सहयोग महत्त्वपूर्ण भए पनि त्यो ऋण हो वा अनुदान भन्ने स्पष्ट नभएको उनको भनाइ छ।

विगतमा पनि भारतबाट यस्ता सहयोगका घोषणा भए पनि अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको स्मरण गर्दै भट्टराईले यसपटकको घोषणा प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

उनले क्रिकेट क्षेत्रमा सहकार्य विस्तार गर्ने र नेपालमा भारतीय संस्थाका शाखा खोल्नेजस्ता विषयलाई भने सकारात्मक रूपमा लिएको बताए । यस्ता कार्यक्रम युवाहरूको चाहना र आवश्यकतासँग जोडिएको उनको भनाइ छ। तर, यीबाहेक भ्रमणका अधिकांश विषय विगतकै निरन्तरता भएको उनले टिप्पणी गरे।

भट्टराईले प्रधानमन्त्री शाहको भनाइ र गराइबीच पनि तालमेल नमिलेको आरोप लगाए । ‘विगतको भारी बोक्दिनँ भन्ने तर विगतमै अगाडि बढेका सबै आयोजनाहरू उद्घाटन गर्ने कार्यले प्रधानमन्त्रीको भनाइ र गराइबीच तालमेल नमिलेको देखिन्छ,’ उनले भने।

झन्डै दुई तिहाइको जनादेशसहित भारत भ्रमणमा गएका प्रधानमन्त्रीले नेपालका दीर्घकालीन र महत्त्वपूर्ण मुद्दाहरूलाई प्राथमिकतामा राख्न नसकेको उनको आरोप छ ।

‘नेपालका लामो समयदेखि थाँती रहेका एयर रुट, जलस्रोत, विद्युत् व्यापारका समस्या र सीमा सम्बन्धी विषय हाम्रा जल्दाबल्दा मुद्दा हुन् । यी विषय संसद्ले सर्वसम्मत रूपमा पारित गरेका विषय पनि हुन्,’ रातोपाटीसँगको कुराकानीमा भट्टराईले भने ।

उनले तराईका नागरिकले वर्षौंदेखि भोग्दै आएको डुबानको समस्या पनि भ्रमणको प्राथमिकतामा नपरेको बताए । प्रधानमन्त्री स्वयं तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले त्यहाँका नागरिकका समस्यालाई महत्त्व दिनुपर्ने उनको भनाइ छ ।

भट्टराईले प्रधानमन्त्री शाह मेयर हुँदा सीमा लगायत नेपालका राष्ट्रिय मुद्दामा राख्ने गरेको धारणासँग अहिलेको भ्रमणको उपलब्धि मेल नखाएको टिप्पणी गरे । त्यसबेला उठाएका विषयको नजिकसम्म पनि अहिले पुग्न नसकेको उनको दाबी छ ।

उनका अनुसार प्रधानमन्त्री शाहले विगतभन्दा फरक र परिणाममुखी कूटनीतिक पहल गर्ने अपेक्षा गरिए पनि भारत भ्रमणमा त्यसको स्पष्ट संकेत देखिन सकेन ।