काभ्रेपलाञ्चोक-विभिन्न व्यक्तिलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई सुन, नगद तथा अन्य सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ घर भई हाल बनेपा नगरपालिका-५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की), धुलिखेल नगरपालिका-१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाको बिगु गाउँपालिका-४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४ बस्ने ४६ वर्षीय नवराज घिमिरे (विक) र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१ घर भई हाल बनेपा नगरपालिका-७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न मितिमा विभिन्न स्थानमा व्यक्तिहरूलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। बेहोस भएका व्यक्तिहरूको साथमा रहेका सुनका गरगहना, नगद तथा अन्य सामग्री लुटेर लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरेको थियो। अनुसन्धानपछि चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूबाट लुटपाटमा प्रयोग भएका तथा लुटिएका सुनलगायत विभिन्न सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



प्रतिक्रिया