काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले रिजाललाई २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो।
सेवाग्राहीको उजुरी तथा प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
आयोगका अनुसार अनुसन्धानका क्रममा रिजालले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै सेवाग्राहीको सामान गोश्वारा हुलाक कार्यालयमार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई बार्गेनिङ गरेर घुस लिएको पुष्टि भएको छ। उनले आपसी मिलेमतो तथा योजनामा सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै आयोगले २० हजार रुपैयाँ बिगो कायम गरेको छ।
आयोगले रिजाललाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय तथा सोही दफाअनुसार बिगो बराबर २० हजार रुपैयाँ जरिवाना हुनुपर्ने मागदाबीसहित बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।



प्रतिक्रिया