अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आरजु राणा हङकङको राजनीतिक कार्यक्रममा सहभागी [तस्वीरहरू]

आरजु राणा हङकङको राजनीतिक कार्यक्रममा सहभागी [तस्वीरहरू]


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लामो समयपछि सार्वजनिक राजनीतिक कार्यक्रममा देखिएकी छन्। जेनजी आन्दोलनपछि राजनीतिक गतिविधिमा सक्रिय रूपमा नदेखिएकी राणा बुधबार हङकङमा आयोजित नेपाली जनसम्पर्क समितिको अधिवेशनमा सहभागी भएकी हुन्।

राणा सहभागी भएको उक्त कार्यक्रमको तस्बिर सार्वजनिक भएपछि उनी लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएको पुष्टि भएको हो। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको जनसम्पर्क समितिको अधिवेशनमा उनी सहभागी भएकी हुन्।

देउवा पक्षका नेता किरण पौडेलले हङकङमा बुधबार जनसम्पर्क समितिको अधिवेशन भएको र उक्त कार्यक्रममा राणा सहभागी भएको जानकारी दिएका छन्।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि राणा श्रीमान् तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेश गएकी थिइन्। दुवै जना स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका थिए। त्यसपछि गत चैतमा उनीहरू सिंगापुरबाट हङकङ पुगेका थिए।

देउवा गत साउन २८ गते स्वदेश फर्किएका थिए भने राणा हङकङमै बसेकी थिइन्। देउवा स्वदेश फर्किएर राजनीतिक गतिविधिमा सक्रिय भइरहँदा राणा भने लामो समय सार्वजनिक रूपमा देखिएकी थिइनन्।

पूर्वपरराष्ट्रमन्त्री राणा चुनावअघि भारत हुँदै सिंगापुर पुगेकी थिइन्। उनी सिंगापुर पुग्नुअघि फागुन १३ गते पूर्वप्रधानमन्त्री देउवा त्यहाँ पुगिसकेका थिए।

यसैबीच, देउवा र राणाविरुद्ध रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्ने प्रयास भएको दाबीसमेत सार्वजनिक भएको छ।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहेको छ। लामो समयपछि राणा राजनीतिक कार्यक्रममा सार्वजनिक हुनुलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिका दृष्टिले पनि चासोका साथ हेरिएको छ।