काठमाडौं-यमनका इरान समर्थित हुथी विद्रोहीले साउदी अरबका तेल प्रशोधन केन्द्र तथा रणनीतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन् । साउदी अरबले पनि यमनका हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण बढाएपछि दुई पक्षबीचको द्वन्द्व थप चर्किएको छ ।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार दक्षिणपश्चिमी जाजान क्षेत्रमा रहेको एक तेल प्रशोधन केन्द्रमा प्रक्षेप्यास्त्र आक्रमण भएको थियो । आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
आक्रमणपछि प्रशोधन केन्द्रमा आगलागी भएको थियो । आगलागीका कारण केही समयका लागि केन्द्रको उत्पादन तथा सञ्चालन कार्य रोकिएको मन्त्रालयले जनाएको छ ।
यसअघि बुधबार हुथी विद्रोहीले साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमध्ये एक रास तनुरालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए । आक्रमणपछि खिचिएको भूउपग्रह तस्वीरमा तटीय क्षेत्रमा रहेको उक्त केन्द्रबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिएको सीएनएनले जनाएको छ ।
हुथी नियन्त्रित सशस्त्र बलले साउदी अरबको पूर्वी प्रान्तमा रहेको रास तनुरा केन्द्रमा आगलागी भएको दाबी गरेको छ । उक्त केन्द्र विश्वकै प्रमुख कच्चा तेल निर्यात टर्मिनलमध्ये एक रहेको ठूलो औद्योगिक परिसरको हिस्सा हो ।
आक्रमणपछि रास तनुरा टर्मिनलबाट तेल लोड गर्ने काम रोकिएको थियो । तर, उक्त टर्मिनल पुनः सञ्चालनमा आएको वा नआएको स्पष्ट भइसकेको छैन ।
साउदी नेतृत्वको गठबन्धनले रास तनुरालाई लक्षित गरी आएका चारवटा ड्रोन अवरोध गरी नष्ट गरेको जनाएको छ । ड्रोनका अवशेष खसे पनि कुनै मानवीय क्षति नभएको गठबन्धनको दाबी छ ।
रास तनुरा तेल प्रशोधन केन्द्रको दैनिक प्रशोधन क्षमता ५ लाख ५० हजार ब्यारेल रहेको छ । अमेरिकी–इरान युद्ध सुरु हुनुअघि यो केन्द्र साउदी अरबको प्रमुख कच्चा तेल निर्यात टर्मिनल रहेको विशाल औद्योगिक परिसरको हिस्सा थियो ।



प्रतिक्रिया