अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै


सुर्खेत-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ। प्रशिक्षणका लागि पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरू वीरेन्द्रनगर आउने भएका छन्।

रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललित चन्दका अनुसार कर्णालीमा शनिबार र आइतबार दुई दिन प्रशिक्षण सञ्चालन हुनेछ । त्यसपछि अन्य प्रदेशमा पनि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पार्टीको तयारी छ।

प्रशिक्षणका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सोबिता गौतम, महामन्त्री विपिन आचार्य, नेता शिशिर खनाल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र हरि ढकाललगायत नेताहरू शुक्रबार नै वीरेन्द्रनगर आउने कार्यतालिका रहेको चन्दले बताए।

प्रशिक्षणमा कर्णालीका जिल्ला, प्रदेश तथा स्थानीय तहका गरी करिब ३०० नेता–कार्यकर्ता सहभागी हुने प्रदेश उपसभापति तुलाराज शाहीले जानकारी दिए।

वीरेन्द्रनगरस्थित कौशीक गार्डेनमा हुने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीका विषयमा प्रशिक्षण दिइनेछ।

यसैबीच, उम्मेदवार छनोटको विषयमा सामाजिक सञ्जालमा ‘म नै उम्मेदवार हुँ’ भन्दै प्रचार गर्नेहरूलाई कारबाही गरिने सहमहामन्त्री राजबहादुर शाहले बताएका छन्। उम्मेदवारको संख्या अझै टुङ्गो नलागेकाले थप हुन सक्ने उनले बताए।

रास्वपाले कर्णालीका आठ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ भने डोल्पा र हुम्लामा अधिवेशन हुन बाँकी रहेको छ।

महामन्त्री चन्दले कर्णालीमा बहुमतको सरकार निर्माण गर्ने लक्ष्यअनुसार पार्टीले संगठन विस्तार र चुनावी तयारीलाई अघि बढाइरहेको बताए।