बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रतिबद्धता र प्रयास आवश्यक रहेको बताएका छन् ।
बालविवाह, कम उमेरमा विवाह तथा जबर्जस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बालविवाहमुक्त समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका हुन् ।
बालविवाह बालअधिकारको गम्भीर उल्लङ्घन हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, व्यक्तित्व विकास र भविष्यमा प्रत्यक्ष असर पार्ने सामाजिक समस्या भएको उनले उल्लेख गरेका छन् ।
बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा, सम्मानजनक जीवन र उज्ज्वल भविष्य प्रदान गर्नु सबैको साझा दायित्व भएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
बालविवाह अन्त्य सामाजिक चेतना, व्यवहार र सोचमा परिवर्तनसँग जोडिएको विषय भएकाले यसको उन्मूलनका लागि सरकार, परिवार, समुदाय, विद्यालय, नागरिक समाज तथा सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक रहेको उनले बताएका छन् ।
कानुनी व्यवस्था र सामाजिक जागरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाहलाई सामाजिक रूपमा अस्वीकार्य व्यवहारका रूपमा स्थापित गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन् ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश निर्माणलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्दै आएको पनि उल्लेख गरेका छन् ।
चालु आर्थिक वर्षमा प्रदेशका १२ वटै जिल्लाका १०९ स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा उन्मूलनका कार्यक्रम केन्द्रित गरिएको उनले शुभकामना सन्देशमा बताएका छन् ।



प्रतिक्रिया