काठमाडौं-नेपाली कांग्रेसका नेता एवम् १५औँ महाधिवेशनको प्रचार-प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासत कसैले खोस्न नसक्ने बताएका हुन् ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचार–प्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टरको शनिबार उद्घाटन गर्दै महतले पार्टीभित्र देखिएको विवादका सन्दर्भमा आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको बताए ।
‘हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ । नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ महतले भने, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ । हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो ।’
उनले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन आग्रह गर्दै महाधिवेशनमार्फत पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
महतले १५औँ महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि बताए । पार्टीभित्र सहमति कायम गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।
उनका अनुसार महाधिवेशनमा संगठनात्मक एकता र समावेशी सहभागितालाई प्राथमिकता दिइनेछ ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ ।
महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा. महतलाई जिम्मेवारी दिएको थियो ।
त्यस्तै, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया