अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताजा जनादेशका लागि जनताका बीचमा जान लागेका हौं : उपप्रधानमन्त्री पोखरेल

ताजा जनादेशका लागि जनताका बीचमा जान लागेका हौं : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले ताजा जनादेशका लागि जनतासामु जानुपर्ने अवस्था आएको बताउनु भएको छ ।

शनिबार काठमाडौंको हाँडीगाउँस्थित ऐतिहासिक पुनर्निर्मित भीमसेन मन्दिरको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

राजनीतिक स्थायित्वले मात्रै जनतालाई विकास र समृद्धि दिन सक्ने बताउँदै उपप्रधानमन्त्री पोखरेल अहिले फेरि सरकार ढाल्ने, अस्थिरताको रोग निम्त्याउन खोजिएको बताउनुभयो ।

‘राजनीतिक अस्थिरताको भूतप्रेतले अहिले पनि लखेटिरहेको छ, सरकार ढाल्ने र बनाउने खेलोमा रङमगिने लामो समय देखिको एउटा अभ्यास र रोग जनु थियो त्यो अहिले पनि बेलामा बेलामा देखापर्ने खोज्दै छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘त्यसैले जनताको विचमा गएर यी सबै चिजको फैसला गर्नुपर्छ भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो ।’

बाग्मती प्रदेश सरकार, पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा निर्मित मन्दिरको उद्घाटन गर्दै पोखरेलले हाँडिगाउँलाई ऐतिहासिक थलोको रुपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको समेत बताउनुभएको छ ।

विगतमा लिच्छविकालीन समयको राजधानी थलोको रुपमा रहेको हाँडिगाउँ क्षेत्रलाई विकास गर्नेगरी आफुले अठोट गरेको स्मरण गर्दै उपप्रधानमन्त्री पोखरेले इतिहासको केन्द्रभागको रुपमा दुनियाँलाई चिनाउने गरी यस क्षेत्रको विकास गर्ने अध्ययन र उत्खननको काम भइरहेको उल्लेख गर्नुभयो ।

पुरातात्व विभागबाट यस क्षेत्रको अध्ययनको काम जारी
रहेको बताउँदै पोखरेलले तत्पश्चात यस क्षेत्रलाई कसरी विकास गर्ने भन्ने बारेमा टुंगोमा पुग्ने बताउनुभयो ।

सरकारले यस क्षेत्रको अध्ययन र अन्वेषणका निम्ति आफ्नो नीति कार्यक्रममा प्राथमिकतापूर्वक कार्यक्रम समाविष्ट गरिसकेको छ । ‘यो कुनै एउटा विषयमा मात्रै अध्ययन गर्ने कुरा होइन, धेरै कुरा ख्याल गरेर अध्ययनको काम भइरहेको छ, तत्पश्चात सरकारको मातहतमा रहने गरी विशेष किसिमको समिति बनाएर यसको संरक्षण, उत्खनन् र विकासको काम गर्ने हाम्रो योजना छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

पुराना ऐतिहासिकता झल्किने, धार्मिक र सांस्कृतिक परम्परा र विशिष्टता झल्काउने सम्पदाको पहिचान, उत्खनन् र विकास गर्ने सरकारको मान्यता रहेको बताउँदै हाँडिगाउँ क्षेत्रलाई कुन स्वरुपमा अगाडि बढाउने हो त्यसबारेमा विज्ञ सहितको टोलीले काम गर्ने बताउनुभयो ।

उहाँले पुरातत्व विभागको अध्ययनको काम सकिएपछि त्यसको आधारमा अन्य कामको टुङ्गो लाग्ने बताउनुभयो ।

राज्यका साथै जनस्तरको सहभागिताबाट मात्रै पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले जनताको स्वामित्व र सहभागितामा नै सबैभन्दा महत्वपूर्ण कुरा रहेको बताउनुभयो ।