काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी तथा संविधानका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौं क्षेत्र नं. ६ स्थित एमाले तारकेश्वर नगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले जनताको विश्वास जित्न पार्टीका नेता–कार्यकर्ता जनप्रिय बन्नुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले पार्टीले जनतासँगको सम्बन्ध सुधार गर्न जागरण अभियान सञ्चालन गरिरहेको र त्यसका लागि जनसंगठनहरूलाई परिचालन गरिएको बताए।
महासचिव पोखरेलले एमालेले जनताको बहुदलीय जनवादका आधारमा आफ्ना नीतिप्रति जनताको विश्वास जित्दै जनचाहनाअनुसार आफूलाई प्रस्तुत गर्नुपर्ने बताए । उनले परम्परागत कम्युनिस्ट आन्दोलनको विचारधाराबाट मात्रै अघि बढ्न नसकिने धारणा राखे ।
‘मार्क्सवादलाई सृजनात्मक प्रयोग गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नयाँ पुस्तालाई जोडेर जान सक्नुपर्छ,’ उनले भने ।
महासचिव पोखरेलले एमालेले विगतमा सरकार सञ्चालन गर्दा आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिएको दाबी गर्दै युवालाई देशभित्र पर्याप्त रोजगारी दिन नसक्दा जनतामा असन्तोष बढेको विषयलाई आत्मसात् गर्नुपर्ने बताए ।
उनका अनुसार बदलिँदो समय र जनताको अपेक्षाअनुसार पार्टीले आफ्ना नीति, कार्यक्रम र कार्यशैलीमा सुधार गर्दै अघि बढ्न आवश्यक छ । जनताको विश्वास कायम गर्न पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया