काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने भएको छ। पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा उक्त योजनाबारे जानकारी गराइएको हो।
एमालेका अनुसार संगठनलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले सदस्यता प्रणाली, संगठनात्मक विवरण, सूचना आदानप्रदान तथा प्रतिवेदन व्यवस्थापनलाई डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ।
पार्टी सचिव डा. राजन भट्टराईले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै पार्टीको संगठनात्मक संरचना र जनसम्पर्कलाई अझ प्रभावकारी बनाइने बताए। उनले पार्टीका सबै तहलाई डिजिटल प्रणालीमा आबद्ध गराउँदै विवरण व्यवस्थापन, सूचना प्रवाह र प्रतिवेदन प्रणालीलाई आधुनिक बनाइने जानकारी दिए।
त्यस्तै, पार्टी सचिव भानुभक्त ढकालले सदस्यता र अन्य महत्वपूर्ण पार्टी दस्तावेजलाई प्राकृतिक विपत्ति तथा अन्य सम्भावित जोखिमबाट सुरक्षित राख्न र संगठनात्मक कामलाई छिटो, पारदर्शी तथा व्यवस्थित बनाउन डिजिटल सदस्यता प्रणाली आवश्यक भएको बताए।
एमाले नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना, वैचारिक क्षमता र संगठन सञ्चालनको दक्षता अभिवृद्धि गर्न वडा तथा पालिका तहसम्म नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको जनाएको छ।
पार्टीले डिजिटल सदस्यता प्रणाली लागू भएसँगै सदस्यको विवरण अद्यावधिक, अभिलेखीकरण, सूचना व्यवस्थापन तथा संगठनात्मक गतिविधिको निगरानी र समन्वय अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साथै, यसले आधुनिक प्रविधिको प्रयोगमार्फत संगठनलाई तल्लो तहसम्म गतिशील र उत्तरदायी बनाउने एमालेको लक्ष्य रहेको जनाएको छ।


प्रतिक्रिया