अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको सन्देश: आदिवासी समुदायको संस्कृति नेपालको अमूल्य साझा सम्पत्ति

अध्यक्ष ओलीको सन्देश: आदिवासी समुदायको संस्कृति नेपालको अमूल्य साझा सम्पत्ति


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३२औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसंघले समेत ऐतिहासिक रूपमा लिपिबद्ध गरेको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रिय सौन्दर्यका रूपमा आत्मसात् गर्दै यसलाई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्नुपर्ने बताएका छन्। उनले शताब्दीयौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्।

आदिवासी समुदायको जल, जंगल, जमिन तथा प्रकृति संरक्षणमा महत्वपूर्ण परम्परागत योगदान रहेको उल्लेख गर्दै ओलीले मौलिक भाषा, भेषभूषा, रीतिरिवाज र लोकसंस्कृति नेपालको अमूल्य साझा सम्पत्ति भएको बताएका छन्।

अध्यक्ष ओलीले संविधानले सबै समुदायको समान अधिकार सुनिश्चित गर्दै राज्यका हरेक अंगमा समावेशी तथा सहभागितामूलक प्रतिनिधित्वको व्यवस्था गरेको उल्लेख गरे। दशकौँ लामो संघर्ष र बलिदानबाट निर्माण भएको समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्नु सबैको दायित्व भएको उनको भनाइ छ ।

राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक संविधान र संविधानले सुनिश्चित गरेका अधिकारको रक्षा गर्न सम्पूर्ण समुदायको एकता आवश्यक रहेको ओलीले बताएका छन्। विविधतालाई शक्तिका रूपमा आत्मसात् गर्दै एकताबद्ध हुन उनले सबैलाई आह्वान गर्दै विश्व आदिवासी दिवसको पुनः शुभकामना व्यक्त गरेका छन्।