काठमाडौं-नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले आफू एक्लो भएको बताएकोप्रति आश्चर्य व्यक्त गरेका छन्।
उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै सरकारसँग ठूलो जनशक्ति र राज्य संयन्त्र हुँदाहुँदै पनि आफूलाई एक्लो महसुस गर्नुको कारणबारे प्रश्न गरेका हुन्।
उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पीए त कति हो कति, तर पनि एक्लै ?’
उपमहासचिव भट्टराईले विगतका राजनीतिक नेताहरूको उदाहरण दिँदै बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र गणेशमान सिंह आफूलाई एक्लो भए पनि जनताको साथ उनीहरूको पक्षमा रहेको उल्लेख गरेका छन्।
‘बीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए, तर जगत् उनीहरूको पक्षमा थियो,’ उपमहासचिव भट्टराई लेखेका छन्।
उपमहासचिव भट्टराई अहिलेका नेताहरूको वरिपरि राज्यका विभिन्न संयन्त्र र समर्थकहरूको ठूलो समूह हुँदाहुँदै पनि आफूलाई एक्लो ठान्ने प्रवृत्तिमाथि व्यंग्य गरेका छन्। ‘हिजोका अरू र आजकाहरूका वरिपरि सब छ, तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन्। किन होला ? बुझिनँ मैले, बुझाइदेऊ कसैले !’ उपमहासचिव भट्टराईले भनेका छन्।



प्रतिक्रिया