अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा जान ओली नेतृत्वको पार्टीसँग एजेन्डै एजेन्डा छन् : नेता चौधरी

चुनावमा जान ओली नेतृत्वको पार्टीसँग एजेन्डै एजेन्डा छन् : नेता चौधरी


विराटनगर- नेपाल कम्युनिष्ट पार्टीकी नेतृ भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीसँग जनताका बीचमा जान एजेन्डाको कमी नभएको बताउनु भएको छ ।

आगामी वैशाख १७ र २७ गते चुनाव हुने र चुनावमा जनताका बीच्मा जानका लागि आफ्नो पार्टीसँग एजेन्डाको कमी नरहेको उहाँले चर्चा गर्नुभयो ।

केही नेताहरू चुनावमा जान भनेपछि डराएको र उहाँहरूसँग चुनावमा जनतासामु जान कुनै एजेन्डा नै नभएको समेत बताउनु भयो ।

‘उताका साथीहरू चुनावका लागि जनतामा जाने भनेपछि डराउनु भएको छ । किनकि उहाँहरूसँग जनतामा जाने एजेन्डा नै छैन,’ पार्टीको १ नं. प्रदेश कमिटीले विराटनगरमा शनिबार आयोजना गरेको जनसभामा बोल्दै नेता चौधरीले भन्नुभयो, ‘तर हाम्रो पार्टीलाई चुनावमा जान कुनै समस्या छैन । हामीसँग जनतासामु जान एजेन्डाको कमी छैन । हामी जनताकाबीच विकास र समृद्धिका विभिन्न एजेन्डा लिएर जनताका बीच जान्छौं ।’

नेता चौधरीले केपी ओली नेतृत्वको पार्टी र सरकारकै कारण घुसखोरीमा कमी आएको, राष्ट्रिय गौरवका आयोजनाहरूले गति लिएको, समृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा हुँदै गरेको, देशले महिला राष्ट्रपति पाएको, लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन भएको, आवश्यक सयौं कानूनहरू बनेको, संघीयता अगाडि बढेको बताउनु भयो ।

‘यस्ता यस्ता कामहरू यो सरकारले गरेको छ । हामी त काम गरिरहेकै थियौं, पार्टीकै केही नेताहरूबाट काम हुन नदिने काम भयो,’ उहाँले भन्नुभयो, ‘फेरि पनि हामी काम गर्नेछौं, फेरि हामी जनतासमक्ष आएर चुनाव जितेर विकास र समृद्धिका पक्षमा हामी काम गर्नेछौं ।’