विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्व आदिवासी दिवसका अवसरमा कोशी प्रदेश तथा स्वदेश-विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले समृद्ध रहेको उल्लेख गर्दै आदिवासी जनजाति समुदायले नेपालको सामाजिक तथा सांस्कृतिक पहिचान समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय, समावेशिता तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले बताएका छन्। प्रदेशमा बसोबास गर्ने सबै जातजाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, संरक्षण, संवर्द्धन र विकासका लागि सरकारले विभिन्न नीति, कार्यक्रम तथा योजनामार्फत निरन्तर काम गरिरहेको उनको भनाइ छ।
मुख्यमन्त्री कार्कीले ले प्रदेशको विविधतालाई शक्ति र सम्पत्तिका रूपमा स्वीकार गर्दै सबै समुदायको समान सहभागिता, सम्मान र अवसर सुनिश्चित गर्नु साझा दायित्व भएको बताएका छन्। आदिवासी जनजातिका मौलिक ज्ञान, सीप, कला, भाषा, संस्कृति तथा परम्परागत अभ्यासको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा र मौलिकताको संरक्षण तथा प्रवर्द्धनका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले विविधताबीच एकता, पारस्परिक सम्मान, सहअस्तित्व र सामाजिक सद्भावलाई थप मजबुत बनाउन दिवसले महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, कला, ज्ञान र मौलिक पहिचानको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता पनि मुख्यमन्त्रीले व्यक्त गरेका छन्।


प्रतिक्रिया