अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रघु पन्तविरुद्ध कोमल वली अदालत जाने

रघु पन्तविरुद्ध कोमल वली अदालत जाने


काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तका विरुद्ध सांसद कोमल वली अदालत जानु हुने भएको छ । आफूलाई पिडुँला देखाएर सांसद भएको आक्षेप लगाएपछि वलीले महिला हिंसा विरुद्धको मुद्दा लिएर अदालत जाने चेतावनी दिन भएको हो ।

गृह जिल्ला दाङमा रहनुभएकी वलीले नेपाली बहस डटकमसँग कुरा गर्नुहुँदै भन्नुभयो, ‘रघुजी पन्तमा धेरै कुण्ठा रहेछ । यस भन्दाअघि पनि यो कुरा मैले महसुस गरेको हो । तर, आज उहाँले सर्वाजनिक रूपमै कुण्ठा पोख्नु भएछ । म अहिले दाङमा छु । फर्केपछि हिंसा विरुद्धको मुद्दा लिएर अदालत जान्छु । ’

सामाजिक सञ्जालमा चर्को आलोचना

वलीलाई पिंडुला देखाएर सांसद र केन्द्रीय सदस्य भएको भनेर पन्तले बोल्नुभएको भिडियो सार्वजनिक भएपछि उहाँकै पार्टीका नेता कार्यकर्ता र अन्य क्षेत्रका व्यक्तिहरूले चर्को आलोचना गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले फेसबुकमा लैंगिक रूपमा कोमल वलीमाथि गरिएको टिप्पणी आलोचना खेदजनक भएको उल्लेख गर्नुभएको छ । पोख्रेलले लेख्नुभएको छ, ‘मा. कोमल वली चर्चित लोक गायिका र संचारकर्मी हो र राजनीतिमा उनको प्रवेश सोही परिवेशबाट भयो । लैंगिक रूपमा उनको आलोचना खेदजनक छ ।’

प्रचण्ड-माधव समूहकै अनेरास्ववियूकी नेतृ आरती लामाले ट्विटरमा पन्तको अभिव्यक्तिप्रति खेद व्यक्त गर्नुभएको छ । लामाले लेख्नु भएको छ, ‘उनले पिडुंला देखाएर, सारी माथि तानेर सभामा छिरेको भने पक्कै होइन । कमरेड यथार्थ कुरा बोले पनि तपाईंले बोलेको कुराप्रति मेरो आपत्ती । खेद ।’

लेखक अमृता लम्सालले महिलाको शरीर र चरित्र माथि हमला गरेर राजनीतिलाई निरन्तरता दिने बानी छाड्न चेतावनी दिनुभएको छ । लम्सालको चेतावनी छ ‘तपाईंहरूसँग सिद्धान्त र तर्कको खडेरी नै परेको हो ? जे मुखमा आयो त्यही बोल्ने ? तपाईंहरू कानुनभन्दा माथि हो ?’

पत्रकार सरोजराज अधिकारीले नागरिक समाजको बर्को ओडेर नागरिक आन्दोलनमा रघुजी पन्त महिलाका पिडुँला हेर्न आउन सक्नेतर्फ सजग गराउनु भएको छ । अधिकारी लेख्नुहुन्छ, ‘नागरिकको बर्को ओढेर फेरी पनि रघुजी पन्त तपाईंको आन्दोलनमा महिलाका पिडौँला हेर्न आउन सक्छन् । त्यसबेला पिडालु मर्काका बहुरूपीलाई नखेदाउने हो भने समग्र आन्दोलन कोक्याउन सक्छ । सचेत रहनु ।’

डा. समिरमणि दिक्षीतले यस विषयमा नागरिक अभियान्ताको प्रतिक्रियाको अपेक्षा गर्दै लेख्नु भएको छ,ः ‘निचभन्दा निच स्तरको सोच ।’