अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे: अध्यक्ष ओली 

एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे: अध्यक्ष ओली 


काठमाडौं–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सही विचार, सिद्धान्त र महान् उद्देश्य बोकेको पार्टी भएको बताएका छन्।

नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।

अध्यक्ष ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताए । अध्यक्ष ओलीले फाँसीवादी प्रवृत्तिका विरुद्ध मिल्न सकिने सबै शक्ति मिलेर संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता रहेको र ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताए।

‘यतिबेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) देशव्यापी रुपमा फैलिएको, सुदृढ सङ्गठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नुछ, एकीकरण गर्नु आवश्यक छैन।’ 

अध्यक्ष ओलीले एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरूलाई ढोका खुला रहे पनि एकताको चरणमा अहिले आफूहरू नरहेको बताए।  अध्यक्ष ओलीले भने– ‘एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू लिन सक्छौं, पार्टीगत एकताको चरणमा अहिले हामी छैनौ।’

अध्यक्ष ओलीले सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गर्दै कुनै नराम्रो काम गरेर एमाले जनतामा अलोकप्रिय भएको नभई हाम्राविरुद्ध भएको हमला र छरिएको भ्रम जनता भ्रमबाट जनता अलमलिएको बताए।

यसैकारण पार्टीले गम्भीर धक्का खाएको अहिलेको अवस्था भए पनि उठ्न नसक्ने अवस्थामा नपुगेको उनले बताए। अध्यक्ष ओलीले भने– ‘हामी अलिकति घाइते भएका हौं, मरेका छैनौं, हामी उठ्न सक्छौं ।’

‘हामीले केही बिगारेका छैनौँ, त्याग, तपस्या गरेका छौँ, लोभ पाप गरेका छैनौँ, हीनताबोध गर्नुपर्ने छैन, भविष्य हाम्रै हो’, ओलीले उच्च मनोबलका साथ जनतामा परेको भ्रम चिर्दै अगाडि बढ्न सम्पर्क विशेष सङ्गठन कमिटीमा आबद्ध नेता–कार्यकर्तालाई आग्रह गरे। 

‘गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो’, तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘हामी हमलामा पर्‍याैँ। सुरक्षा संयन्त्र परिचालित भएन।’

उक्त घटनामा जोडेर मानव अधिकार आयोगजस्ता निष्पक्ष न्यायिक संस्थाहरूबाट समेत आफू अत्याचारमा परेको अध्यक्ष ओलीले बताए । ‘देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौं’ अध्यक्ष ओलीले भने ।

सुझाव सङ्कलन कार्यक्रममा पार्टीका उपाध्यक्ष, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, पार्टीका नेता लालबाबु पण्डित लगायतको उपस्थिति रहेको थियो।

Skip This