अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई ‘मिस’ गर्दै दुर्गा प्रसाईंले भन्नुभयो, ‘…तर पछुतो छैन’

प्रचण्डलाई ‘मिस’ गर्दै दुर्गा प्रसाईंले भन्नुभयो, ‘…तर पछुतो छैन’


झापा– चर्चित मेडिकल व्यावसायी दुर्गा प्रसाईंले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई लोभिपापीको झुण्डबाट बाहिर निस्कन आग्रह गर्नुभएको छ । कुनै बेला प्रचण्ड निकट मानिने बि एण्ड सी कलेजका प्रबन्ध निर्देशक प्रसाईंले लोभिपापीहरुले घेरिदै गएपछि प्रचण्डलाई असली नेता कार्यकर्ताहरुले साथ छोड्दै गएको बताउनुभएको छ । प्रधानमन्त्री विरुद्ध अनेक तिकड्म र अविश्वासको प्रस्ताव ल्याएपछि आफूले प्रचण्डको साथ छोडेको प्रसाईंले यस अघि नै बताउँदै आउनुभएको छ ।

मन्तव्यको सुरुमै प्रचण्डलाई ‘मिस’ गरेका प्रसाईंले आजको भव्य कार्यक्रममा उहाँको उपस्थिति नुहनुका विभिन्न कारण रहेको प्रष्ट पार्नुभएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रबन्ध निर्देशक प्रसाईंले आजको कार्यक्रममा प्रचण्डलाई किन सहभागी गराइएन भनेर विभिन्न तर्क प्रस्तुत गर्नुभएको छ ।

प्रचण्डलाई नेता कार्यकर्ताहरुसँग सम्बन्ध बिगार्न नारायणकाजी श्रेष्ठको प्रमुख भूमिका रहेको उहाँले संकेत गर्नुभएको छ । लिखित मन्तव्यमा पटक पटक ‘काजी’ भनेर सम्बोधन गर्नु भएका उहाँले प्रचण्डलाई घर न घाटको बनाउन उनै काजीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ‘चुनाव हारेका मान्छेलाई बोकेर हिड्दा तपाईं घर न घाटको भइसक्नुभएको छ’ प्रसाईंले प्रचण्डलाई भन्नुभएको छ ‘अहिले त बेला बेला माइतीघरमा देखिदै हुनुहुन्छ तर एकदिन त्यो भन्दा टाढा पुग्नुहुनेछ । अनि तपाईं पछुताउनुहुनेछ ।’ उहाँले प्रचण्डलाई छाडेकोमा पछुतो नभएको पनि उल्लेख गर्नुभयो ।

‘तपाईंले राज्य सत्ता विरुद्ध गरेको आन्दोलनको उपलब्धीमा काजीहरुले तर मारिरहेका छन् । यो कुरा जनताले थाहा पाएका छन् । त्यसको लेखाजोखा गर्छन् । बिचार गर्नुहोला प्रचण्डज्यू,’ प्रसाईंले भन्नुभएको छ ।

जनयुद्धका क्रममा आफूले सेनाको बंकरमा समेत बस्नु परेको अनुभव सुनाउदै प्रसाईंले ऐतिहासिक परिवर्तनको नेतृत्व प्रचण्डले गरिरहदा काजीहरु बद्नाम गर्न लागिपरिरहेको बताउनुभएको छ । ‘तपाईंले राज्य सत्ता विरुद्ध गरेको आन्दोलनको उपलब्धीमा काजीहरुले तर मारिरहेका छन् । यो कुरा जनताले थाहा पाएका छन् । त्यसको लेखाजोखा गर्छन् । बिचार गर्नुहोला प्रचण्डज्यू,’ प्रसाईंले भन्नुभएको छ ।

पार्टीमा काजीहरुको प्रवेश भएपछि जनयुद्धका सहकर्मी बाबुरामहरु बाहिरिएको तथ्य पेस गर्दै प्रसाईंले प्रचण्डलाई सोध्नुभएको छ ‘काजीहरु पसेपछि तपाईंका गुरु किरणहरु कहाँ पुगे ? पार्टीमा सिन्को नभाँचेका काजीहरुले गर्दा पार्टीका कमाण्डर बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र विप्लवहरु कहाँ छन् थाहा छ ? त्यसकारण तपाईं काजीहरुको चंगुलबाट निस्कने हिम्मत गर्नुहोस् ।’

प्रचण्डलाई सुझाव : केपी ओलीसँग मिल्नुहोस्
प्रचण्डका धेरै वटा दुःखसुखका साथी र सहजकर्ता प्रसाईंले लोभिपापीको घेरा तोड्नु सुझाव दिनुभएको छ । यिनै लोभिपापीले घेरिरहने र आफूजस्ता शुभचिन्तकहरु सधैं पाखै पर्ने अवस्था आउँदा प्रचण्डको राजनीतिक भविष्य पनि सकिने बताउनुभएको छ । उहाँले प्रचण्डले आफ्नो भविष्य र राजनीति जोगाउने हो भने राष्ट्रवादी नेता केपी शर्मा ओलीसँग सहकार्यको विकल्प नभएको बताउनुभएको छ । ‘तपाईंलाई राजनीतिक भविष्यको आशा छ भने फराकिलो छाती भएका राष्ट्रवादी र चट्टानी अडान भएका नेता प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्नुहोस्,’ प्रसाईंले भन्नुभएको छ, ‘यसका लागि तपाईंलाई केही अप्ठ्यारो छ भने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र म सहजीकरण गर्न तयार छौं । तपाईंहरु दुईजना मिल्नुको विकल्प छैन ।’

प्रचण्ड मिस हुने सुखद र दुखद कारण
२०७४ साल मंसिरको दुई गते । आज जस्तै बि एण्ड सी अस्पतालको आँगनमा हजारौं मानिसहरु आएका थिए । अस्पतालको उदघाटनमा तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै मञ्चमा बस्नु भएको थियो । चुनावी आमसभाहरुमा आएका मान्छेलाई पर्खाएर पनि उहाँहरु अस्पतालको उदघाटनका लागि समय दिनुभएको थियो । त्यस दिन दुवै नेताले सबैले देख्ने गरी रक्तचाप नाप्नु भएको थियो । अध्यक्ष ओलीको १३५÷९० र अध्यक्ष प्रचण्डको १३५÷८५ थियो रक्तचाप । प्रसाईंले तत्कालिन वाम गठबन्धनमा दुवै नेताको खुलेर प्रशंसा गर्नुभएको थियो । चुनावमा विजयको घोषणा गर्नुभएको थियो । त्यसदिन प्रसाईले नेपाली कांग्रेसलाई वाम नेताले भन्दा बढी गालीगलौज गरेर गठबन्धनको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । एक प्रकारले बि एण्ड सिको आँगन वाम गठबन्धनको चुनावी सभा जस्तो थियो । ओली र प्रचण्डको उपस्थितिले सुखद उत्सव पनि थियो त्यो ।

त्यस साँझ प्रचण्डको टिम बि एण्ड सीको अतिथि गृहमा बास बस्यो । भोलिपल्ट मंसिर तीन गते बिहान प्रचण्डलाई ‘मर्निङ वाक’मा लैजान प्रसाईं उहाँको कोठमा प्रवेश गर्नुभयो । बिहानको ६ नबज्दै जुत्ता लाएर हिड्न ठिक्क पर्नुभएका प्रचण्डको मोबाइलमा घण्टी बज्यो । फोनमा उताबाट के आवाज आयो । प्रचण्ड थचक्क भुइँमा बस्नुभयो । आतिएर प्रसाईंले सोध्दा प्रचण्डको मुखबाट नसोचेको कुरा बाहिरियो ‘प्रकाश बित्यो रे ।’ हो प्रचण्ड बि एण्ड सीमा सुतेको रात काठमाडौंमा छोरा प्रकाशको मृत्यु भएको थियो ।

‘दुवै जना अध्यक्ष आउनुको खुशी र प्रकाशजीको मृत्युको खबर दुवै हामीले बि एण्ड सीको आँगनमा देखेका र सुनेका थियौं । त्यसैले दुर्गा सरले प्रचण्डलाई आज मिस गर्नुभएको हो,’ अस्पतालका जनसम्पर्क अधिकारी प्रमेश गिरीले भन्नुभयो ।