अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तमोर नदीमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र सम्पन्न गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

तमोर नदीमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र सम्पन्न गर्न मुख्यमन्त्री कार्कीको निर्देशन


पाँचथर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्ला जोड्ने तमोर नदीमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

सात वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुलको आइतबार स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले निर्माण कार्यलाई तीव्रता दिई तोकिएको समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका हुन्।

पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने १४६ मिटर लामो उक्त पुल २२ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ।

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीसहितको टोलीले पुल निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति र आयोजनासँग सम्बन्धित समस्याबारे जानकारी लिएको थियो।

निरीक्षण टोलीमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिस्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए।

पुल निर्माण सम्पन्न भएपछि पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज हुनेछ। साथै, स्थानीय उत्पादनको बजारीकरण, व्यापार व्यवसाय र दुई जिल्लाबीचको आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।