अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब जनताका दुःखका दिन सकिए : प्रधानमन्त्री ओली

अब जनताका दुःखका दिन सकिए : प्रधानमन्त्री ओली


सिन्धुपाल्चोक- प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा तीव्र गतिमा बढेकाले अब कसैले रोक्न नसक्ने बताउनु भएको छ । बिहीबार सुनकोसी-मरिन डाइभर्सन बहुउद्द्श्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘देश अब अगाडि बढ्यो-बढ्यो ढुक्क हुनुहोस्, हाम्रो उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली रहेकाले एउटा ढल्दा हजार बनेर निस्किन्छौं ।’

प्रधानमन्त्री ओलीले देश समृद्ध बनाउने महान उद्देश्यमा सरकार लागेकाले जनताको दुःखका दिन सकिएर सुःखका दिन आउनेसमेत बताउनुभयो । सबै नेपालीका लागि अभिभावकीय भूमिकामा सरकार रहेकाले अब कसैले चिन्ता गर्नु नपर्ने उहाँले विश्वास दिलाउनुभयो ।

कोरोना खोप आइसकेकाले अब कोभिड १९ ले पनि दुःख दिन नसक्ने उहाँले बताउनुभयो । देशभरबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले घरवासविहिनका लागि घरबास निर्माण गरी वितरण भइरहेको बताउनुभयो । नेपाल आधुनिक नेपालतर्फ उन्मुख भएको चर्चा गर्नुहुँदै भन्नुभयो, ‘आउने तिहारदेखि इलेक्ट्रिक बसहरु शहरमा सुचारु हुन्छ, शहरलाई आधुनिकीकरणको काम भइरहेको छ ।’

आयोजनाको मुख्य दुई वटा देखिने उद्देश्य रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले १ लाख ८५ हजार विघासम्म सिंचाई पुर्‍याउने लक्ष्य आयोजनाको रहेको बताउनुभयो । अर्को, ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । सुनकोसीको पानी बोकेर टनेल मरिनमा पुग्छ, त्यसको प्रत्यक्ष लाभ यहाँका किसान दाजुभाइ दिदीबहिनीहरुलाई हुने उहाँले बताउनुभयो ।

आयोजनाले यहाँको रुखोपनलाई अब मलिलो र हराभरामा परिणत गर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो एउटा सिंचाइको नहर मात्र होइन, सिंचाइले जमिनमुनिको पानी पनि माथि ल्याउँछ, यसको काम बहुउद्देश्यीय हो ।’ आयोजनाले मधेस र हिमाललाई जोड्ने बताउनुभयो । आफूलाई मधेस विरोधीको आरोप लगाए पनि आफूले मधेसमा काम गरेर देखाइरहेको चर्चा गर्नुभयो । यसपछि अर्को आयोजना सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम शुरु हुने र त्यसले १ लाख ७० हजार बिघा जमिनमा सिंचाई हुने जानकारी दिनुभयो ।