अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाका सांसदहरूलाई प्रधानमन्त्रीद्वारा बालुवाटार बोलावट

नेकपाका सांसदहरूलाई प्रधानमन्त्रीद्वारा बालुवाटार बोलावट


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सासंदहरूलाई भोलि साँझ बालुवाटार बोलाउनु भएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार भोलिको संसद् बैठक सकिएपछि प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्नका लागि सांसदहरूलाई बालुवाटार बोलाउनुभएको हो ।

आजको बैठकमा सहभागी एक सांसदका अनुसार प्रतिनिधिसभाका ९१ जना र राष्ट्रिय सभाका २४ जना गरी १ सय १५ जना सांसद सहभागी थिए । ‘भोलिको संसद् बैठक सकिएर फर्कदा हामी १ सय २० जना भएर फर्कन्छौँ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै ति सांसदले भन्नुभयो ‘प्रधानमन्त्रीको मनोबल हेर्दा हाम्रो पक्षमा सहजै बहुमत हुने स्थिति छ ।’ आजको बैठकको उपस्थितिले नै नेकपाको संस्थापन पक्ष बहुमतमा छ भन्ने पुष्टि गरेको सहभागी एक सांसदले जानकारी दिनुभयो ।

‘हामी कुनै पनि हालतमा अल्पमतमा छैनौ,’ सांसद एलपी साँवाले भन्नुभयो ‘हामी सहज बहुमतका लागि थप प्रयासरत छौँ । संसदमा मत हाल्नु पर्ने बेलामा यसको नतिजा देखिनेछ ।’

स्रोतका अनुसार संस्थापन नेकपाका सांसदहरू अहिले साँझ पनि विभिन्न समूहमा छलफलमा सहभागी छन् ।

‘हामी विभिन्न क्लस्टरमा समूह बनाएर छलफल गर्दैछौँ,’ एक सांसदले भन्नुभयो, ‘दुई तिहाइ नजिकको पार्टी चोइट्याएर प्रचण्ड-माधवले नेपालको संसदलाई २०५४ सालमा फर्काउनु भएको छ । त्यसबेला बहुमत पुर्‍याउने नाममा संसदमा अनेक विकृती छिरेका हुन् । मान्छेले बिर्सिसकेका ति विकृतीलाई पुनः उजागर गर्ने प्रवृतीलाई निरुत्साहित गर्न हामी लागि परेका छौँ । ’