अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार महिनाभित्र ‘उज्यालो तनहुँ’

चार महिनाभित्र ‘उज्यालो तनहुँ’


तनहुँ- जिल्लालाई आगामी चार महिनाभित्र अन्धकारमुक्त बनाउने लक्ष्य राखिएको छ । विद्युत् विस्तारका लागि डेढ वर्षे प्रोजेक्ट सुरू भए पनि बाढीपहिरो र कोरोनाका कारण सम्झौताअनुरूप काम गर्न नसकिएपछि पुनः चार महिनाभित्र उज्यालो तनहुँ बनाउन लागिएको हो ।

जिल्लाको ऋषिङ गाउँपालिका-१ स्थित झापुटारमा १४० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको देवघाट गाउँपालिका-२ अन्तर्गत खाल्टे, कोटबैदी, छिपछिपे, जामडाँडा, नराङ्गा, थामडाँडालगायत क्षेत्रमा अझै विद्युत् लाइन विस्तार गर्न बाँकी छ ।

यही फागुनमा सम्झौता अवधि समाप्त भइसकेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार (तनहुँ विद्युतीकरण आयोजनाका) साइड इञ्चार्ज लक्ष्मणप्रसाद रेग्मीले बताउनुभयो । सडकको पहुँच नपुगेका कारण सामान ढुवानीमा कठिनाइ भएकाले सम्पूर्ण सामान मानिसले नै बोकेर लैजानुपर्ने भएकाले तोकिएको अवधिमा काम गर्न गाह्रो भएको जनाइएको छ ।

आयोजनाले विद्युत् लाइन विस्तार गर्नुपर्ने अधिकांश क्षेत्रमा लाइन जडान सम्पन्न गर्दै बत्ती बाल्न शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको आँबुखैरेनी-६ स्थित भलडाँडामा ११ केभी प्रसारण लाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जोडेर विद्युत् विस्तार गरिएको छ । विद्युत् लाइन जडान पश्चात करीब ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

त्यसैगरी घिरिङ गाउँपालिका-४ अन्तर्गत गड्यौलीटार र वनटारका गरी २५० घरधुरी लाभान्वित भएका छन् । देवघाट गाउँपालिका-१ को कालीटार, कोटा, गोपीटार र देवघाट-५को साउने पानीमा ट्रान्सफरमा क्षमता वृद्धि गरी विद्युत् जडान गरिएको छ ।

विद्युत् जडानपश्चात् त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित भएका छन् । बन्दीपुर गाउँपालिका-६ स्थित सराङघाट र घिरिङगाउँपालिका-४ को सामुङमा कूल रु तीन करोड बढीको लागतमा सव-स्टेशन निर्माण गरिएको बताइएको छ । घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटार, वनटारमा पुर्‍याउन नसकिएकाले केही समयअघि मात्रै विद्युत् जडान गरिएको छ । रासस