अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होटल बन्द होइन, सुरक्षा व्यवस्था गर्नुपर्छ: मुख्यमन्त्री कार्की

होटल बन्द होइन, सुरक्षा व्यवस्था गर्नुपर्छ: मुख्यमन्त्री कार्की


विराटनगर-राति १० बजेपछि होटल तथा व्यवसाय बन्द गर्न मोरङ प्रशासनले दिएको निर्देशनप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आपत्ति जनाएका छन्। मुख्यमन्त्री कार्कीले सुरक्षा व्यवस्थापनको जिम्मेवारीबाट पन्छिएर नागरिक तथा पर्यटकको आवागमनमा समयसीमा तोक्नु उचित नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले राज्यले दिउँसो मात्रै सुरक्षा दिने र राति सुरक्षा उपलब्ध नगराउने भन्ने हुन नसक्ने बताएका हुन्।

‘राज्यले दिउँसो मात्रै सुरक्षा दिने र राति सुरक्षा उपलब्ध नगराउने भन्ने हुन सक्दैन,’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘राति अबेर गन्तव्यमा पुग्ने नागरिक तथा पर्यटकलाई आवागमन र बासको समस्यामा पार्न हुँदैन।’

मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने तथा सडक र आन्तरिक हवाई यातायातमार्फत यात्रु जुनसुकै समयमा गन्तव्यमा पुग्न सक्ने अवस्थामा राति १० बजेपछि होटल बन्द गर्ने निर्देशन व्यावहारिक नहुने तर्क गरेका छन्।

भारतका सीमावर्ती सहरमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ८–९ बजे अवतरण गर्ने यात्रु राति नेपाली सहरमा आइपुग्न सक्ने उदाहरण दिँदै उनले त्यस्ता यात्रुलाई राति १० बजेपछि होटलमा बास नदिने वा सेवा बन्द गर्ने अवस्था सिर्जना गर्न नहुने बताएका छन्।

मुख्यमन्त्री कार्कीले स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता निर्णय गर्दा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय र परामर्श गर्नुपर्नेमा पनि जोड दिएका छन्। पर्यटन व्यवसायी, नागरिक र मुलुकको प्रतिष्ठामा पर्ने प्रभावको आकलन नगरी संवेदनशील विषयमा निर्देशन जारी गर्नु उचित नहुने उनको भनाइ छ।

राज्यको दायित्व नागरिक तथा देशमा आउने पाहुनालाई २४ सै घण्टा सुरक्षा र सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै उनले सुरक्षा चुनौतीको व्यवस्थापन गर्नुपर्नेमा नागरिकको आवागमन र व्यवसाय सञ्चालनमै रोक लगाउने निर्णय गर्न नहुने धारणा राखेका छन्।

मुख्यमन्त्री कार्कीले सुरक्षा व्यवस्थापन र पर्यटनमैत्री वातावरणबीच सन्तुलन कायम गर्नुपर्ने सन्देशसमेत दिएका छन्।