विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरीले आज झुम्कामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले थारु भाषा, संस्कृति, उत्थान र प्रगतिका लागि प्रदेश सरकारले काम गरिरहेको बताए। उनले कोशी प्रदेशमा सरकारी कामकाजको भाषामा थारु भाषालाई समेत समावेश गरेर सरकारले ऐतिहासिक काम गरेको उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले विभिन्न जातजाति, धर्म, संस्कृति, खानपान र देवालयहरूको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले कानुन ल्याउन लागेको जानकारी दिए। बहुभाषिक र बहुजातीय पहिचान बोकेको कोशी प्रदेशका सबै समुदायको पहिचान संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
नेपालको भाषा, संस्कृति, परम्परा र सभ्यता राष्ट्रिय सम्पत्तिका रूपमा रहेको उल्लेख गर्दै उहाँले नेपालीहरूको विविधताभित्रको एकता नै समृद्धिको मूल आधार भएको बताए।
यसैबीच, मुख्यमन्त्री कार्कीले सुनसरीको मधेलीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गरे। करिब दुई बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनमा दुई हजार पाँच सय भक्तजन अटाउन सक्ने क्षमताको सभाहलसमेत निर्माण गरिएको छ। प्रदेश सरकार, विभिन्न सङ्घसंस्था तथा दाताहरूबाट प्राप्त सहयोग र चन्दाबाट भवन निर्माण गरिएको हो।
भवन उद्घाटन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले समाजमा मानवता, करुणा र असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया