विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन्।
२०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको कार्यभार सम्हालेका खापुङ पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते बिदा हुँदै छन्। सोही अवसरमा मुख्यमन्त्री कार्कीले आज प्रदेश प्रमुख खापुङसँग भेट गरी कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा शुभकामना दिँदै प्रदेशको विकास र समृद्धिमा पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरेका हुन्।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले विकास र स्थिरतालाई अगाडि बढाउने प्रयास गरिरहेको जानकारी गराए। संघीयता कार्यान्वयनपछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका प्रदेश प्रमुख खापुङले प्रदेशलाई अभिभावकत्व प्रदान गर्नुका साथै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले आभार व्यक्त गरे।
भेटमा प्रदेशको विकास, समृद्धि तथा समसामयिक विविध विषयमा समेत छलफल भएको थियो।त्यस अवसरमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरे।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। एक प्रदेशमा पाँच वर्ष कार्यकाल पूरा गरेपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुख नियुक्त हुन नपाउने संवैधानिक प्रावधान छ।



प्रतिक्रिया