अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : मन्त्री तुम्बाहाम्फे

समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : मन्त्री तुम्बाहाम्फे


पोखरा- भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले सहकारीको माध्यमबाट टोल, समाज हुँदै मुलुकलाई समृद्धि बनाउन सकिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घले पोखरामा आयोजना गरेको ‘सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री तुम्बाहाम्फेले मुलुकको समृद्धिका लागि सहकारी भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।

उहाँले सहकारीमा श्रम, शक्ति र पूँजीलाई आर्थिक विकासमा जोडेर अघि बढ्न आग्रह गर्दै आवश्यक परे सहकारी ऐनमा संशोधन गर्न सकिने बताउनुभयो । उहाँले सहकारीमा महिलाको सङ्ख्या बढी देखिए पनि नीति निर्माण तहमा पुग्न धेरै अवरोध देखिएको बताउँदै महिलालाई अर्थपूर्ण सहभागितामा जोड दिएर सामाजिक रुपान्तरणमा समान सहभागिताको उदाहरण देखाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सहकारीले आर्थिक क्षेत्रमा योगदान पुर्‍याएको जनाउँदै अझै महिला र युवाको सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । प्रतिनिधिसभाका अर्का सदस्य मनकुमारी जिसीले सहकारीले उत्पादनमुखी क्षेत्रबाट आर्थिक रुपान्तरणमा गतिविधिमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले ‘गण्डकी प्रदेशको समृद्धि र सहकारी अभियान’ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेलले ‘दिगो स्थानीय आर्थिक विकासमा प्रदेश तथा स्थानीय तह सहकारीबीचको समन्वय र सहकार्य’ विषयक तथा राष्ट्रिय सहकारी महासङ्घका निर्वमान अध्यक्ष केशश बडालले ‘दिगो विकास लक्ष्यका लागि स्थानीयकरणमा स्थानीय तह र सहकारी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र प्रमुख प्रकाशकीय अधिकृत, सहकारीका अगुवा गरी करीब २०० जनाको सहभागिता रहेको छ । सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलका अनुसार प्रस्तुत कार्यपत्रमाथि छलफल गरेर पोखरा घोषणापत्र जारी गरिनेछ ।

सो अवसरमा आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइनका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको थियो । रिलायवल वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि रु १५ हजार रहेको छ ।