अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई सही बाटोमा डोर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ

देशलाई सही बाटोमा डोर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिँदै समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुर्ने बताउनुभयो । हरेक क्षेत्रमा शिर उँचो बनाउने उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रमा समेत यसको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले समाजलाई समृद्ध बनाउने ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै आफ्नो सङ्गठनको हित हुने गरी काम गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले सङ्गठन तथा पार्टीमा रहँदासम्म जिन्दावाद भन्ने र छाड्दा मुर्दावाद भन्ने संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभइ त्यसलाई जोगाइराख्नु अति आवश्यक भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चलचित्र उद्योगको विकासका लागि चलचित्र विकास बोर्डसँग मिलेर काम गर्न सुझाव दिनुभयो ।

सो अवसरमा मन्त्री गुरुङले नेपाल चलचित्र पत्रकार सङ्घले अघि बढाएको कल्याणकारी कोष अभियानको शुभारम्भ गर्नुभयो । सङ्घले रु २० लाख बराबरको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको छ । कार्यक्रममा मन्त्री गुरुङले चलचित्र पत्रकार सङ्घ नेपालका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । सम्मानित हुनुहुनेमा पुर्वअध्यक्षद्वय विदुर गिरी र शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दीप सापकोटा रहनुभएको छ ।