अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौँडाबाट ५२ थान नागरिकतासहित तीन युवक पक्राउ

हेटौँडाबाट ५२ थान नागरिकतासहित तीन युवक पक्राउ


हेटौँडा-मकवानपुर प्रहरीले ५२ थान नागरिकताको प्रतिलिपि, ४ थान चेकबुक र ४३ थान मोबाइल सिमकार्डसहित तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका १९ देखि २१ वर्ष उमेर समूहका तीन युवक रहेका छन्।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–५, सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा डेरा गरी बस्दै आएका उनीहरूलाई आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खानतलासी गरी नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका-८ का अन्दाजी १९ वर्षीय अजय कुमार यादव र सोही स्थानका अन्दाजी १९ वर्षीय पवन कुमार दास तथा बौधिमाई नगरपालिका-६ का अन्दाजी २१ वर्षीय रोशन राय यादव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, एनसेलका प्रयोग भइसकेका २२ थान सिमकार्ड, सिलप्याक अवस्थामा रहेका २१ थान सिमकार्ड र अन्य व्यक्तिका नाममा रहेका चार थान चेकबुक बरामद गरेको जनाएको छ।

बरामद सामग्री के प्रयोजनका लागि राखिएको थियो भन्नेबारे सोधपुछ गर्दा उनीहरूले सिमकार्डको प्रयोग र प्राप्तिको स्रोत खुलाउन नसकेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

तीनै जनालाई ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।