रोल्पा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रोल्पाका निवर्तमान जिल्ला सभापति तथा संस्थापक रमेश थापाले पार्टी परित्याग गरेका छन्। पार्टीको केन्द्रीय सदस्यमा नपरेपछि असन्तुष्ट बनेका इन्जिनियर थापाले आफू स्वतन्त्र रहेको घोषणा गरेका हुन्।
रोल्पामा पार्टी स्थापनाको सुरुवाती चरणदेखि नै संगठन निर्माणमा सक्रिय थापाले प्रदेश तहका पदाधिकारी तथा केन्द्रीय समितिमा जिम्मेवारी पाउने आकांक्षा राखेका थिए। तर, अपेक्षाअनुसार जिम्मेवारी नपाएपछि उनी असन्तुष्ट बनेको बताइएको छ। उनले सामाजिक सञ्जालमार्फत आफू स्वतन्त्र रहेको घोषणा गरेको रोल्पास्थित पत्रकार मानसिंह विकले जानकारी दिएका छन्।
रोल्पामा कठिन परिस्थितिका बीच रास्वपाको संगठन विस्तारमा योगदान दिएका थापाले गत निर्वाचनमा पार्टीलाई जिल्लामा दोस्रो स्थानसम्म पुर्याउन भूमिका खेलेका थिए। लामो समयदेखि पार्टी निर्माणमा सक्रिय रहेका उनी बाहिरिएपछि रास्वपाको जिल्ला संगठन र नेतृत्व छनोट प्रक्रियाबारे चर्चा सुरु भएको छ।
यसैबीच, रास्वपाले रोल्पामा पूर्वप्रहरी अधिकारी विक्रमसिंह थापालाई पठाएको छ। रमेश थापाको बहिर्गमन र नयाँ नेतृत्वलाई दिइएको प्राथमिकतालाई पार्टीको संगठनात्मक रणनीति तथा राजनीतिक दिशासँग जोडेर हेरिएको छ।
रमेश थापानिकट स्रोतका अनुसार, पार्टीमा लामो समय योगदान दिएका व्यक्तिलाई उचित जिम्मेवारी नदिइएको र नयाँ नेतृत्वलाई प्राथमिकता दिइएको विषयले असन्तुष्टि बढाएको हो। यद्यपि, पार्टी छाड्ने निर्णयका विषयमा थापाको विस्तृत आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।



प्रतिक्रिया