अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हनुमन्ते करिडोर निर्माणको बाँकी काम सुरू

हनुमन्ते करिडोर निर्माणको बाँकी काम सुरू


भक्तपुर- कोटेश्वरको जाम हटाउने, बस्ती डुबान रोक्ने, वातावरणीय र अन्य विभिन्न सुधार गर्ने उद्देश्यका साथ भक्तपुरमा सुरू भएको हनुमन्ते करिडोर निर्माणमा अवरोध पुगेका संरचना हटाउन थालिएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले सुरू गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्ड विपरित रहेका संरचना हटाउन सम्बन्धित निकायलाई पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि त्यस्ता संरचना हटाएर करिडोर निर्माण कार्य अगाडि बढाएको हो ।

समितिले भक्तपुरको सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमिमा करिडोर निर्माण गर्ने कार्य शुरु गरेपछि राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्म २.८ किमि करिडोर निर्माणमा आएका विभिन्न विवादलाई सुल्झाउदै बालकोटसम्मको निर्माण पूरा गरेको छ । यो बीचमा केही भागमा स्थायी तथा अस्थायी संरचना बनाएर हनुमन्ते करिडोर निर्माणमा बाधा पुगेका र करिडोरको मापदण्ड विपरित रहेका संरचना भने धमाधम भत्काएर निर्माण कार्य सम्पन्न गर्न लागेको हो ।

हनुमन्ते करिडोर मापदण्डभित्र संरचना निर्माण गरेका साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाललगायत भौतिक संरचनामा भत्काउन समितिले विगत दुई वर्षदेखि पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेको समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले बताउनुभयो ।

ती उद्योगले पटकपटक एक साताको समय माग गर्ने गरेको तर समय दिँदा पनि भौतिक संरचना नहटाई अटेर गर्दा करिडोर निर्माणमा नै बाधा पुग्ने भएपछि यहाँका संरचना डोजर लगाएर भत्काइएको उहाँले जानकारी दिनुभयो ।

एक साता अघिसम्म पनि सूर्यविनायक नगरपालिकाले सात दिनको समय दिएर अन्तिम पटक उक्त संरचना हटाउन सूचना जारी गरी पत्र पठाउँदा पनि अटेर गरेको बताइएको छ ।