अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मनमोहन अधिकारीको २२ औं स्मृति दिवस

आज मनमोहन अधिकारीको २२ औं स्मृति दिवस


काठमाडौं- आज दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको २२ औं स्मृति दिवस हो । चुनावी अभियानकै सिलसिलामा अधिकारीको ०५६ साल वैशाख १३ गते निधन भएको थियो । काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार थिए ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने २०५१ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

त्यसपछि उनले कम्युनिष्टको अल्पमतको सरकारको नेत्तृत्व गरेका थिए । वाम तथा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए । उनी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव पदमा निर्वाचित भएका थिए ।

नेपालमा पहिलोपटक मनमोहन नेतृत्वको सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । एमालेले यसलाई निरन्तरता दिंदै आएको छ । तत्कालीन माले र मार्क्सवादी एकीकरण भई ०४७ सालमा नेकपा एमाले निर्माण भएपछि मनमोहन एमालेको अध्यक्ष बनेका थिए । उनी जीवन पर्यन्त एमालेको अध्यक्ष रहे । मनमोहनको निधनपछि एमालेले अध्यक्ष पद खाली राखेको थियो । ०६५ को आठौं महाधिवेशनबाट मात्र एमालेले अध्यक्षको व्यवस्था गरेको थियो । अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता पनि हुन् ।

उनले करीब ६ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा राजनीतिक आन्दोलनको नेतृत्व गरेका अधिकारीले पटक पटक गरी करीब १७ वर्ष लामो कठोर जेल जीवन पनि बिताएका थिए ।संसदीय ब्यबस्था अन्तर्गत जननिर्वाचित संसदबाट नै प्रधानमन्त्री चुनिएको कोणबाट अधिकारीलाई विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री पनि भन्ने गरेको पाइन्छ ।