अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद्को घडीमा दिल खोलेर सहयोग गर्न अध्यक्ष ओलीको आह्वान

विपद्को घडीमा दिल खोलेर सहयोग गर्न अध्यक्ष ओलीको आह्वान

बागमती प्रदेश र राजधानी प्रदेश कमिटीद्वारा १०-१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण


काठमाडौँ-नेकपा (एमाले)ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग अभियानलाई तीव्र बनाएको छ। सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले जनही रु.१० लाखका दरले कुल रु.२० लाख सहयोग रकम पार्टीलाई हस्तान्तरण गरेका हुन्।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले विपद्को घडीमा पीडित नागरिकसम्म राहत छिटो, प्रभावकारी र पारदर्शी रूपमा पुर्‍याउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए। अध्यक्ष ओलीले राहत सामग्री र आर्थिक सहयोग सरकारी कोषमा मात्र सीमित नभई वास्तविक पीडितसम्म पुग्नुपर्नेमा जोड दिए।

‘सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत पनि संकलन भएको छ। तर कतिपय प्रभावित नागरिक अझै आवश्यक सहयोगको प्रतीक्षामा छन्। त्यसैले राहतलाई पीडितको घरदैलोमै पुर्‍याउने प्रयासमा हामी लागिरहेका छौं,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले एमालेले सरकारको भर मात्र नपरी आफ्नै स्रोत र जनसहभागितामार्फत राहत वितरण गरिरहेको जानकारी दिँदै राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.१ करोड २० लाख संकलन गर्ने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको बताए। आवश्यकताअनुसार संकलित रकम प्रभावित क्षेत्रका नागरिकहरूको हितमा खर्च गरिने उनको भनाइ थियो।

अध्यक्ष ओलीले विपद्को समयमा सम्पूर्ण नेपालीलाई मानवीय भावना देखाउँदै सहयोगमा जुट्न आह्वान गरे। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निजी हेलिकप्टर, तालिमप्राप्त स्वयंसेवक तथा दक्ष जनशक्तिको अधिकतम उपयोग गर्नुपर्ने धारणा पनि उनले राखे।

एमालेले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई मानवीय सहयोग अभियानमा सहभागी हुन आग्रह गरेको छ।