अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा अधिकारीले स्थापित गरेका मूल्यवान गुणहरु हुन् : उपप्रधानमन्त्री पोखरेल

सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा अधिकारीले स्थापित गरेका मूल्यवान गुणहरु हुन् : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं–  नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस ।

उहाँको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम राखिएको छैन् ।

स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गर्नुभएका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताउनुभएको छ ।

‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्’– उपप्रधानमन्त्री पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको उल्लेख गर्दै पोखरेलले भन्नुभएको छ – ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’

नेकपा (एमाले) का महासचिव रहनुभएका पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको लोकप्रिय सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।

‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो ।

तत्कालिन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।’– विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।