अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट दैनिक दुई/चार विवाह आइरहेको छ, रोक्न सकिने अवस्था छैन : गाउँपालिका अध्यक्ष मगर

भारतबाट दैनिक दुई/चार विवाह आइरहेको छ, रोक्न सकिने अवस्था छैन : गाउँपालिका अध्यक्ष मगर


काठमाडौं- भारतसँग सिमाना जोडिएको कपिलवस्तुको विजयनगर गाउँपालिका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उच्च जोखिममा छ । भारतमा कोभिड महामारीको सुनामी आइरहेको छ ।

भारतमा दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन् । हजारौंले ज्यान गुमाएका छन् । खुला सिमाना भएकाले भारतमा देखिएको कोभिड सुनामी नेपाल भित्रने डर बढेको बताउनुहुन्छ विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा मगर ।

खुला सिमाना भएकाले मानिसहरू यताउता आउजाउ गर्ने भएपछि गाउँपालिका उच्च जोखिममा परेको उहाँले बताउनुभयो । रोक्ने कोशिस गरे पनि नसकिएको उहाँले बताउनुभयो ।

वैशाख लागेपछि हरेक दिन इण्डियाबाट दुई/चार वटा विवाह आएको छ, यताबाट पनि त्यतिकै गएको छ, जन्ती आउने चलिरहेको छ, खुल्ला सिमाना भएकाले रोकेर रोक्न सकिने अवस्था छैन, यसको लागि नागरिक नै सचेत हुन आवश्यक छ

अध्यक्ष थापाका अनुसार मंगलबारदेखि विजयनगरमा फेरि संक्रमित भेटिन थालेका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा मंगलबार एकैदिन आठ जनामा कोरोना संक्रमण देखियो । गाउँपालिकामा गरिएको एण्टिजेन परीक्षणमा ती संक्रमितको पहिचान भएको हो ।

‘भारतमा कोभिड फैलिएको छ, विजयनगरका स्थानीय र भारतीय नागरिक विवाह भोज, भतेर र सामान किन्नका लागि वारिपारिको बजारमा आउजाउ गर्छन्, हामीले लाखौं कोशिस गर्दा पनि रोक्न सक्दैनौं, सायद यही क्रममा उनीहरूमा संक्रमण सरे होला,’ थापा भन्नुहुन्छ ।

नागरिकको आनिबानीमा सुधार नआएसम्म संक्रमण नरोकिने बताउँदै उहाँले भन्नुभयो, ‘नागरिक गम्भीर नभएसम्म विजयनगरको हकमा कुनै पनि मानिस कोरोनाबाट अछुतो रहने देखिँदैन ।’ उहाँका अनुसार महामारीको आगो बलिरहँदा पनि नागरिकले सामान्य सावधानी समेत अपनाउँदैनन् ।

‘वैशाख लागेपछि हरेक दिन इण्डियाबाट दुई/चार वटा विवाह आएको छ, यताबाट पनि त्यतिकै गएको छ, जन्ती आउने चलिरहेको छ, खुल्ला सिमाना भएकाले रोकेर रोक्न सकिने अवस्था छैन, यसको लागि नागरिक नै सचेत हुन आवश्यक छ, सेना, पुलिस लगाएर सकिँदैन,’ थापाले आईएनए न्युज एजेन्सीसँग भन्नुभयो ।

संक्रमितको उपचारका लागि गाउँपालिकाले २० बेडको अक्सिजनसहितको आइसोलेशन तयार गरेको छ । घरमै आइसोलेशनमा बस्दा समस्या हुने वा घरमा बस्ने ठाउँ नहुनेहरूका लागि सो आइसोलेशन बनाइएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्यसम्बन्धी सचेतना अभियान पनि चलाइरहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो – ‘भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने, सरसफाइमा ध्यान दिने, पोषिलो खानेकुरा खानुपर्छ भनेर सिकाइरहेका छौं, तर पनि नागरिक जति गम्भीर हनुपर्ने हो भएका छैनन्,’ अध्यक्ष थापा मगरले भन्नुभयो ।

सोमबारसम्म सो गाउँपालिकामा नयाँ संक्रमितको संख्या १० पुगेको छ । तीमध्ये एक जना भीम अस्पताल भैरहवामा भर्ना भएका छन् । अन्य ९ जना गाउँमा नै होम आइसोलेशनमा छन् । ‘अहिलेसम्म उहाँहरुको अवस्था सामान्य छ, स्वास्थ्कर्मीको निगरानीमा घरमा नै हुनुहुन्छ,’ अध्यक्ष थापाले भन्नुभयो ।

गाउँका प्रत्येक नागरिकलाई सुरक्षित हुन थापाले अनुरोध गर्नुभयो उहाँले भन्नुभयो, ‘सुरक्षित बसौं, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौँ, आफू बचौँ, अरूलाई पनि बचाऔँ, अत्यावश्यक नभइ घरबाहिर ननिस्कौँ ।’