काठमाडौँ–अब नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको गृह जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ मार्फत अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेको हो।
नियमावलीको नियम १६घ को उपनियम (१) अनुसार ऐनको दफा ३ बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको नेपाली नागरिकले चार विशेष अवस्थामा अन्य जिल्लाबाट प्रतिलिपि लिन सक्नेछन् ।
नियमावलीअनुसार नागरिकताको प्रमाणपत्र आगलागी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा अन्य जिल्लाबाट प्रतिलिपि लिन सकिनेछ।
यसका लागि सम्बन्धित व्यक्तिले अनुसूची–१८ बमोजिमको ढाँचामा अन्य जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ। निवेदनसँगै च्यातिएर काम नलाग्ने भएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा नागरिकताको सक्कल प्रति पेस गर्नुपर्नेछ। त्यस्तै, आगलागी वा पानीले नष्ट भएको तथा हराएको अवस्थामा नागरिकताको उपलब्ध प्रतिलिपि संलग्न गर्नुपर्ने व्यवस्था छ।
यसका अतिरिक्त निवेदकले राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजातसमेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले दुईवटा डिजिटल प्रणालीमार्फत विवरण रुजु गरेर मात्र नागरिकताको प्रतिलिपि जारी गर्न सक्नेछन्।
पहिलो चरणमा निवेदकले पेस गरेको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग भिडाइनेछ। त्यसपछि निवेदकको जैविक विवरण (बायोमेट्रिक) लिई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी प्रचलित कानुनबमोजिमको राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको विवरणसँग रुजु गरिनेछ।
दुवै प्रणालीबाट विवरण यकिन भएपछि नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अभिलेख रहेबमोजिमको विवरण उल्लेख गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रतिलिपि जारी गर्न सक्नेछन्।
यो व्यवस्थाले नागरिकताको प्रतिलिपि लिनकै लागि नागरिकता जारी भएको जिल्ला पुग्नुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया